Tuesday, December 4, 2012

सुनसान काठमाण्डौँको पट्यारलाग्दो दशैँ

–संघर्ष पन्त
दशैँ आयो, खाउला पिउला, कहाँ बाट ल्याउला, चोरी ल्याउला, धक्त बुढि म त एक्लै बसौँला, सानो छदाँ दशैँ आउदा बितिकै मुखमा झुन्डिएको हुन्थ्यो यो भनाई । रोतापुलको खोला छेउबाट भित्र जाने गल्लीमा पूरै परिवारका साथमा डेरामा बस्दा गल्लीका साथिहरुसँग मिलेर भाका लगाउदैँ रमाउथे म । नयाँ लुगा लगाउदै यता र उता फुरुङ फरुङ उफ्रदै साथीसंगीमा कसको लुगा रामं्रो अनि महंगो भनेर धाग देखाउदै बिछट्टै रमाइलो हुन्थ्यो । साच्चैँ ति दिनहरु सम्झिदा विगतमै फर्कन मन लाग्छ, अनि त्यही तनावमुक्त, रमाइलो पलहरु पुनः अनुभव गर्न मन लाग्छ । तर, बगेको खोल जस्तै त हुन् नि हाम्रा यादहरु कहिले फर्किएर यथार्थमा बद्लिदैन । सँगै पढ्ने साथी भाई अनि डेरा छेउछाउ बस्ने छिमेकीहरु पोको बाँधेर आफ्नो घर लाग्ने क्रम जारी छ । अनि म चाँही उनीहरुको घर फर्कनको लागि रहेको उत्साह एक मुक दर्शक भएर हेरिरहेको हुन्छु ।
सबैलाई दशैँ आउदा खुब रमाइलो लाग्छ तर मलाई भने यो सुनसान काठमाण्डौँको सुनसान सडकमा यात्रा गरेर अफिस तिर लाग्न निकै नरमाइलो लाग्छ । दशैँ भनेकै विशेषतः लामो छुट्टि, परिवारका सबै सदस्य एक जुट भएर निधारमा टिका अनि कानमा जमरा लगाउदै पिङ खेल्ने नै हो । तर, मेरो हकमा यि सबै नहुदा हरेक वर्ष नरमाइलो लाग्दो रहेछ । हुन त हाम्रो परिवार काठमाण्डौँको रैथाने भने पक्कै होइन । हाम्रो पुर्खेउली घर काभे्रको बिर्तादेउराली भन्ने गाविस हो । तर त्यहाँबाट हाम्रो हजुरबुवा, हजुरआमा २० वर्ष अगाडि बारा जिल्लाको सिमरामा बसाइ सराई गुर्न भएकाले, हाम्रो पुर्खाको थलोमा म र बुवा मात्र गएका छौ । म अझै सम्झन्छु बैशाकको त्यो महिना जुन बेला म मेरा बुवासँग पहिलो पटक बिर्तादेउराली गएको थिए हाम्रो टाढाको आफन्तको बिहेको लागि । हरियो डाँडाकाँडा, रमाइलो अनि शान्त वातावरण रहेको त्यो ठाँउमा पुनः जान त मन छ, खोइ मेसै मिल्दैन । फेरि केहि वर्ष पहिले हाम्रो हजुरबुवा–आमा पनि हामी सँगै बस्ने हाम्रो डेरामा आउनु्भएकाले दशैँको समय कहि कतौ जाने कुरा आयो भने कता अनि कस्का जाने भन्ने प्रश्नको ओइरो लाग्छ । हुन त हाम्रो मामाघर पनि निकै रमाइलो स्थल दोलखाको जुगुमा रहेको छ अनि त्यहाँ दशैँ मनाउन पनि रमाइलो हुन्छ । फेरि हाम्रो मामाघरमा म अनि मेरो दिदी बाहेक सबै भान्जाहरु मात्र छन्, त्यसैले हामी सबको प्रिय छौ । तर, एक सञ्चारकर्मी भएको नाताले विगत ४ वर्ष देखि काठमाण्डौँमै रुमल्लिरहेको हुन्छु म दशैँको समयमा । हुन त प्राय मेरै कारणले मेरो परिवार पनि कतै जादैनन् र हामीसँगै टिका लगाउछौ दशैँको टिकाको दिनमा । तर पनि त्यतीमै लिङे पिङ खेलेको रमाइलो, गाउ डुल्दाको रमाइलो त कहाँ प्राप्त हुन्छ र? फेरि मेरो त साइतको टिका प्रायः अफिसमै भएको हुन्छ, अनि घरमा चाही अन्तिममा राती लगाइन्छ । यसपालिको मेरो दशैँ पनि एबिसी टेलिभिजनको कार्यलयमै बित्ने निश्चित भइसकेको छ । अफिसमा पनि छुट्टी पाएका साथीहरु तामझामका साथ घर जना आफ्नो तयारी गरिरहेका छन्, अब त्यही हेरेर मन बुझाउन पर्ला । अन्ततः बडा दशैँको उपलक्ष्यमा सम्पूर्ण हिन्दु नेपालीहरुलाई धेरै धेरै मंगलमय शुभकामना ।

No comments:

Post a Comment