Tuesday, August 26, 2014

‘ हो गल्ती हाम्रै हो ! ’

दिन : आईतबार
स्थान : चक्रपथको माईक्रो
समय : बिहानको १० बजे

आईतबारको दिन, छुट्टीको दिन । कार्यालय नगएर कि त घरकै काममा व्यस्त हुने, कि त साथीहरु भेट्ने दिन हो आइतबार, मेरा लागि । भदौ १ गते कृष्णाष्टमीको दिन, आइतबार पनि । वर्षौपछि एकजना साथीलाई भेट्ने योजना थियो । म योजनासंगै रमाउँदै थिएँ । होटेल ¥याडिसनमा भेट्ने निर्णय भएको थियो, हाम्रो । घरबाट केहि मिनेट हिंडेर बौद्ध पुगे । अनि चक्रपथ जाने सेतो माईक्रो समातें ।

बौद्धबाट चक्रपथ जाने सेतो माइक्रो त्यति खुल्ला भएको मैले सायदै देखेकी थिएँ । कार्यालय समयमा त यो गाडीको ठेलमठेल हेर्दा उकुसमुकुस नै हुन्छ । तर सायद त्यो दिन कृष्णजन्माष्टमीको विदाले होला, सेतो माइक्रोमा सिट पाइयो, ठूलै कुरा पाए जस्तो भयो । आफ्नै सवारी नभएको र जहाँ जाँदा पनि सार्वजनिक सवारीमा यात्रा गर्नुपर्ने म जस्ता काठमाडौंबासीलाई बसमा सिट पाउनु पनि युद्ध जिते जत्तिकै खुशीको कुरा हुन्छ ।

बौद्धबाट चक्रपथ र चक्रपथबाट लैनचौरसम्मको यात्रामा एक्लै थिए म । छेउछाउका यात्रुहरु आफ्नै धुनमा मस्त थिए, उनीहरुमध्ये कोही पनि कहिल्यै देखेको या चिनेको अनुहार थिएन । मेरो गाडीमा कोही चिनेको मान्छे भएन भने समय बिताउने खुराक हो, मोबाइलको गीत । हत्तपत्त ब्याग खोलें । धुन्धुन्ती इयरफोन खोजें, भेटिन । ज्या !  इयरफोन त घरमै छोडेछु । समय काट्ने अरु बहाना खोज्न थालें । फ्याट्टै सहकर्मी प्रकाश लामिछाने सरले भन्नुभएको कुरा याद आयो । कार्यालयबाट घर जाने क्रममा उहाँले एकदिन भन्नुभएको थियो, “ माईक्रोमा हुने सम्वादको बारेमा पनि रेडियो कार्यक्रम बनाउदाँ रमाईलो हुन्थ्यो होला ।” त्यही कुरा सम्झे र माईक्रोमा को को गफ गर्दैछन् उनीहरुतीर ध्यान दिन थालें ।

१० मिनेट जति बितेको थियो होला, कुराकानी त खुबै भइरहेका थिएँ तर कसैको कुराकानी त्यतिसाह्रो रमाइलो लागिरहेको थिएन । यस्तैमा रेडियो अडियोमा सुनिने आवाज जस्तै ड्राइभरले, ‘झ्याप्प ब्रेक लगाए’, म अगाडी हुत्तिएँ । रिसले कन्सिरी तात्यो, ड्राइभरसंग कराउँदै थिएँ । उ बेसरी हाँस्न थाल्यो । मलाई अचम्म लाग्यो, यसमा हाँस्नुपर्ने कुरा के छ र ! ड्राइभरको छेउमा बसेको मान्छेपनि उसंगै ठूलो आवाजमा हाँस्न थाल्यो । ‘खलासी’लाई आफू छुटेछु की झै लाग्यो होला सायद, पछाडीबाटै अगाडी फर्कदै बोल्यो, “ओ ! सोल्टी के को हासोँ हो यत्रो ?” ड्राइभरले दायाँबायाँ केही नहेरी जवाफ दियो ‘ओई हेर्न त्यो केटी ! मैले त त्यसले तल लुगै लाकी छैन भन्ठानेको, तर लगाएको रैछे । आजकालको केटीहरुको लुगा हेर्नुपर्छ अरु केही चाहिन्न ।” त्यसपछि खलासी पनि हो मा हो मिलाएर हास्न थाल्यो । ड्राइभरको छेउमा बसेर हाँसिरहेको यात्रुले फ्याट्ट भन्यो, “यस्तै कपडा लाउछन् र त बलात्कारको घटनाहरु बढ्छन् ।” उसको यो वाक्यपछि माइक्रोमा शान्ति छायो । कोही बोलेनन् र उहीतर्फ ध्यान दिन थाले ।

फोटो गुगलबाट
 ड्राइभरः " हो त । उनीहरुले त्यस्तो कपडा लाएर नै केटाहरुलाई उचाल्छन् पहिला । अनि पछि चाहीं मलाई यो भयो र त्यो भयो भनेर कराउँछन् । पहिला आफै राम्रो भएर हिंड्नु नी ।”
छेउको यात्रुः “त्यही भन्या, नकचरीहरु ! हाम्रा आमाहरुले जस्तो पूरै जिउ ढाक्ने कपडा लाए के हुन्छ र तिनीहरुलाई ? छोटो कपडा लाएर आफै चुमुक चुमुक पर्छन्.. अनि यस्ताको बलात्कार नभए कस्ताको हुन्छ त ?”

चालक टाउको हल्लाउँदै गललल हाँस्न थाल्यो । उनीहरुको यो संवाद अझै निकै बेर चलिरह्यो । पुरै अघिको केटीमा केन्द्रित संवाद । उनीहरु एकआपसमा गफिंदै थिए, म चाहीं आफैलाई सोध्दै थिएँ, “ती ६–७ वर्षकी कलिली बालिका, गाउँमा घाँस काट्न हिडेकी युवतीहरुलाई पनि उनीहरुको छोटो वस्त्रले नै बलात्कारको सिकार बनाएको होला त ?”
“के आफ्नो पूरै अंग ढाक्ने युवती भने बलात्कृत भएका छैनन् ? बुर्काले शिरदेखि पाउसम्म छोप्ने महिलाहरुको बलात्कार भएको छैन र ? वैवाहिक बलात्कार चै के नी ?”

“हामी माथि अन्याय हुनुको कारण पनि हामी नै हौं त ?”

आफैंसंग यतिका प्रश्नहरु सोधिरहँदासम्म ड्राइभर र ती यात्रुको गफ सकिएको थिएन । उनीहरुको कुरा सुनेर नमज्जाले रिस उठीरहेको थियो । माइक्रोमा अगाडी पछाडी हेरें । ६–७ जना अरु महिलाहरु पनि थिए । सबै मजाले सुनिरहेका थिए । वाहियात गफ गर्ने ती दुईजनालाई गाली गर्दिउ जस्तो भैसकेको थियो । कोही मभन्दा बुज्रुक महिलाहरु बोल्नुहुन्छ की भनेर कुरें । ५ मिनेट जति कुर्दा पनि कसैले प्रतिकार नजनाएपछि मैले मेरो रिस थाम्नै सकिन । झ्याल बाहिर हेरेको, चक्रपथ आउँदै रहेछ । उनीहरुको संवादले मेरो रिसको पारो अझै तातिरहेको थियो र भनें, “ए ! तपाईहरुले माथि गन्जी नलगाउँदा, तल हाल्प पाईन्ट लाउदा त खोई हामीलाई केहि हुँदैन त, तपाईहरुको बलात्कार गरौँ भन्ने सोच पनि आउदैन त । तर तपाईहरुलाई मात्र त्यसो किन हुन्छ ? हामी पनि मान्छे, तपाई पनि मान्छे ! हामीलाई केहि हँुदैन र मात्र तपाईहरुलाई त्यस्तो हुन्छ भने त्यो हाम्रो होईन तपाईको गल्ती हो । कसैको वस्त्र मन पर्दैन भने नहेर्नुस् न तर त्यसलाई उसको इज्जतसंग जोडेर गलत मनलागी व्याख्या नगर्नुस् ।”

अब चाहीं माइक्रोभरीका सबैजना मेरो अनुहारमा हेर्न थाले । सबैजना चुपचाप । ड्राइभर र ती यात्रुको मुख रातो भैसकेको थियो । मलाई केही सन्तुष्टि मिल्दै थियो । खलासीले चक्रपथ आइपुगेको संकेत ग¥यो । अघि नै भाडा बुझाइसकेकाले माइक्रो रोकिने बित्तिकै झरें । म झरेपछि उनीहरुले मेरो बारेमा के भने होलान् वा भनेनन् होलान्, मेरो लागी त्यति महत्वपूर्ण भएन । तर उनीहरुको संवादले मेरो सहनशीलताको परीक्षा लिइरहेको थियो । सहन नसकी मैले उनीहरुलाई मुखभरीको जवाफ दिएँ, अर्कोपटक यस्तै संवाद गर्दा फेरि सम्झिउन् भनेर । उनीहरुलाई चुप गरेकोमा खुशी मान्दै म आफ्नो गन्तव्यतीर लागें ।




3 comments:

  1. उत्तर मज्जाको थियो र जायज पनि :D, लेख्दै जानुस

    ReplyDelete